वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक अवरुद्ध
काठमाडौँ, ५ साउन – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशमा राजमार्ग अवरुद्ध
कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि सो क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। त्यसैगरी मध्यपहाडी लोकमार्गको खोटाङस्थित माम्खा खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। भोजपुरको बोखिम खण्डमा बाढीका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
बागमतीमा धेरै सडक प्रभावित
बागमती प्रदेशमा सबैभन्दा बढी सडकखण्ड प्रभावित भएका छन्। बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, कान्ति लोकपथमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने रसुवाको पासाङ ल्हामु राजमार्ग पहिरोका बाबजुद एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
गण्डकी र सुदूरपश्चिममा पनि सडक अवरुद्ध
गण्डकी प्रदेशको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिम प्रदेशमा महाकाली राजमार्गअन्तर्गत दार्चुलाको पनेबाँज र ऐरिछिना क्षेत्रमा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। नेपाल प्रहरीले वर्षा जारी रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन, ट्राफिक प्रहरी र सुरक्षा निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

