म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं. ४ बाँसबोट जोड्ने म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन, काठमाडौँले निर्माण गरेको पुल सञ्चालनमा आएसँगै धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दालाई आवतजावतमा सहज भएको छ। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडाका बासिन्दा लाभान्वित भएका छन्।
पुल निर्माण भएपछि विशेषगरी बाँसबोटका किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ। यहाँ उत्पादन हुने केरालगायतका कृषि उपज बिक्रीका लागि बजार लैजान अब सहज भएको अध्यक्ष पुनले बताउनुभयो। पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र सस्पेन्सन ब्रिज डिभिजनबीच रु. १ करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो। १८ महिनाको ठेक्का अवधि रहे पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गरेको हो।
निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाका अनुसार पुलको निर्माण कार्य यसै महिना सम्पन्न भएको हो। पुल सञ्चालनमा आएपछि स्थानीयको यात्रा अवधि समेत उल्लेख्य रूपमा घटेको छ। धवलागिरि–७ का राजकुमार कोइरालाले पुलका कारण यसअघि करिब एक घण्टा लाग्ने यात्रा पाँच मिनेटमा छोटिएको बताउनुभयो। उहाँले पुललाई पर्यटकीयस्थलका रूपमा समेत विकास गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो।
धवलागिरि गाउँपालिकामा यसअघि पनि तीन सय मिटरभन्दा लामा दुईवटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर तथा वडा नं. ३ फलियागाउँ र दर जोड्ने दरखोलामा ३६६ मिटर लामो पुल निर्माण भएको थियो।
नयाँ पुलसहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या सात पुगेको छ। जिल्लामा रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर तथा अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेका छन्।

