मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार राति ९ बजेर ५३ मिनेटमा लोमान्थाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँमा समेत हल्का महसुस गरिएको अधिकारीले जानकारी दिनुभयो।
भूकम्पबाट मुस्ताङमा क्षति पुगेको वा नपुगेकोबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन। क्षतिको अवस्था बुझ्न बुधबार बिहानै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रहरी टोलीले स्थलगत निरीक्षण गरी फर्किएपछि मात्रै क्षतिको वास्तविक विवरण प्राप्त हुने उहाँले बताउनुभयो। भूकम्पबाट केही क्षति भएको हुनसक्ने आशंका रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो।

