जीर्ण बाँधका कारण रौतहटका बस्ती उच्च बाढी जोखिममा
रौतहट, १ साउन – रौतहट भएर बग्ने वाग्मती र बकैया नदीका दुवै किनारमा निर्माण गरिएका बाँध जीर्ण बन्दै गएपछि आसपासका बस्ती उच्च बाढी जोखिममा परेका छन्। बाँध कमजोर हुँदा वर्षेनी नदीको बाढी बस्तीमा पस्ने, खेतीयोग्य जमिन डुबानमा पर्ने तथा ठूलो धनजनको क्षति हुने समस्या दोहोरिँदै आएको छ।
हालै परेको वर्षापछि बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी प्रवेश गर्दा स्थानीय जनजीवन प्रभावित भएको थियो। स्थानीय प्रकाश श्रेष्ठका अनुसार बाँध फुटेमा कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर र गौर नगरपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित हुने अवस्था छ। उहाँले बाँधलाई दीर्घकालीन रूपमा सुदृढ नबनाएसम्म प्रत्येक वर्ष बाढीबाट नागरिकले क्षति व्यहोर्नुपर्ने बताउनुभयो।
यस्तै, वाग्मती नदीको कमजोर बाँधका कारण दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका नदी किनारका बस्ती नियमित रूपमा डुबानमा पर्दै आएका छन्। दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले गत वर्षको बाढीले करोडौँ रुपैयाँ बराबरको धानबाली नष्ट गरेको स्मरण गर्दै बाँध सुदृढीकरणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बाढीको जोखिम बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहित सुरक्षा निकायको टोलीले बिहीबार वाग्मती र लालबकैया नदीका बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि क्षतिग्रस्त बाँधको तत्काल मर्मत र आवश्यक संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
अनुगमनका क्रममा राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको छ। साथै, परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन कटान नियन्त्रण संरचना (स्पर) को प्रगति र सम्भावित जोखिमबारे पनि प्राविधिक तथा सरोकारवालासँग छलफल गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी भुसालले वर्षायाममा बाढी तथा नदी कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, समयमै मर्मत तथा पूर्वतयारीलाई तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन र कुनै पनि विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गर्नुभएको छ।
निरीक्षण टोलीमा नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी तथा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी सहभागी हुनुहुन्थ्यो।

