भाद्र कृष्ण नवमीमा देशभर श्रीकृष्ण रथयात्रा तथा शोभायात्रा
काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवको अवसरमा आज देशका विभिन्न स्थानमा श्रीकृष्ण रथयात्रा तथा शोभायात्रा निकालिँदै छ। पाप र अन्यायको अन्त्य गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको धार्मिक विश्वासअनुसार भाद्र कृष्ण नवमीका दिन कृष्ण मन्दिरहरूबाट रथयात्रा तथा शोभायात्रा निकाल्ने परम्परा रहिआएको छ।
यस अवसरमा काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट विशेष रथयात्रा निकालिँदै छ। काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि श्रीकृष्णका झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन्। यस्तै, गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँस्थित श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो। रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
धार्मिक ग्रन्थमा बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख छ। महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई दिएको उपदेशमा श्रीकृष्णले सत्य र धर्मको पक्षमा उभिन प्रेरित गर्नुभएको प्रसङ्ग पनि धार्मिक ग्रन्थमा पाइन्छ। धर्मको संरक्षण र अधर्मको विनाशका लागि युग–युगमा अवतार लिने मान्यता श्रीकृष्णसँग जोडिएको छ।

