१८ महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षदेखि अलपत्र
स्याङ्जा । वालिङ नगरपालिका–१ यवादीस्थित धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ। स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवनको हालसम्म करिब आधा मात्रै काम सम्पन्न भएको छ। सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि, चितवनसँग १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समय बितेको लामो समयसम्म पनि भवन पूरा हुन सकेको छैन। सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम अझै बाँकी छ। तोकिएको अवधिमा निर्माण सम्पन्न नभएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरिसकेको छ। भदौ मसान्तसम्म निर्माण कम्पनीले काममा तदारुकता नदेखाए ठेक्का रद्द गरिने उहाँले बताउनुभयो।
“सकेसम्म यही निर्माण कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो,” लम्सालले भन्नुभयो, “निरन्तर काम गरेको भए धेरै समय लाग्ने थिएन। अहिले पनि आधाजसो काम बाँकी छ।” भवन निर्माणमा ढिलाइ भएपछि स्थानीय तथा जनप्रतिनिधिले पटकपटक काम तीव्र बनाउन आग्रह गर्दै आए पनि निर्माण कम्पनीले बेवास्ता गरेको वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले बताउनुभयो।
“हजारौँ नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण थालिएको औषधालय निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र बनेको छ,” उहाँले भन्नुभयो, “समयमै काम सक्न आग्रह गर्दै आएका छौँ। समस्या भए समाधानमा स्थानीय र जनप्रतिनिधिले सहयोग गर्ने बताउँदा पनि काम अघि बढेन।” भवन समयमै नबन्दा आयुर्वेद औषधालयले भाडाको भवनबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताउनुभयो। पर्याप्त ठाउँको अभावमा औषधालयका सबै सेवा सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ।
निर्माणाधीन भवनकै कारण मेडिकल योगा, शिरोधारा तथा औषधि निर्माणलगायतका सेवा ठप्प रहेको अर्यालले बताउनुभयो। अहिले औषधालयबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार तथा परामर्श मात्र प्रदान हुँदै आएको छ। भवन निर्माणमा भएको लामो ढिलाइले स्थानीय नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवाबाट पूर्ण रूपमा लाभ लिन समस्या भएको छ।

