एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको उम्मेदवारी खारेज, १५ जनाले फिर्ता लिए
काठमाडौँ, १ पुस – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्।
उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहमा लिलामणि गौतम तथा महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) समूहबाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला समूहबाट खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिला समूहबाट बदमी क्वारी बुढा (वोहरा) तथा प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
यसैबीच केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार आवश्यक प्रक्रिया पूरा नहुँदा उनीहरूको उम्मेदवारी खारेज गरिएको हो।
त्यसैगरी एक उपमहासचिवसहित १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्।
भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।

