देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Facebook Comments Box