रसुवा बाढी : ६१६ को शव फेला, २३०१ जनाको उद्धार

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीलगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट भएको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी हालसम्म देशभर ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ। फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २३३ जनाको रहेको प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ। विपद्मा परेका २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट तीन जना रहेका छन्।

यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १४० पुगेको प्रहरीले जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि देशभर ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Facebook Comments Box