बाढीले भोटेकोशी र त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति
त्रिशूली (नुवाकोट), ११ भदौ – भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नुवाकोट र रसुवामा विद्युत् सेवा समेत अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाका अनुसार बाढीबाट क्षतिग्रस्त प्रसारण लाइनको मर्मतका लागि अध्ययन सुरु गरिएको छ। क्षतिको अवस्था हेरी विद्युत् सेवा नियमित गर्न केही समय लाग्ने उहाँले बताउनुभयो।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ पैरेबेँसीस्थित सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्याएको छ। यी संरचनाबाट काठमाडौँतर्फ विद्युत् आपूर्ति हुँदै आएको थियो। बाढीबाट रसुवामा रसुवागढी १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङटाङ–भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट तथा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
त्यस्तै, नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’, २१ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र तथा नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य प्लान्टमा समेत क्षति पुगेको छ।
प्राधिकरणका निर्देशक थापाका अनुसार अधिकांश संरचना पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेकाले ती आयोजना तथा विद्युत् संरचना पुनः सञ्चालनमा ल्याउन समय लाग्नेछ। बाढीले जलविद्युत् आयोजनाका साथै प्रसारण तथा वितरण प्रणालीमा समेत क्षति पुर्याएपछि नुवाकोट र रसुवाको विद्युत् आपूर्ति प्रभावित भएको छ। क्षतिको विस्तृत मूल्याङ्कनसँगै विद्युत् सेवा नियमित गर्ने काम अघि बढाइने प्राधिकरणले जनाएको छ।

