भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

काठमाडौँ, ११ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ जना महिला, ६३ जना पुरुष, छ जना बालिका र सात जना बालक रहेका छन्। ४७ जनाको भने पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ। नुवाकोटमा छ महिला र सात पुरुष गरी १३ जनाको शव भेटिएको छ। त्यस्तै, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान नखुलेका छ जनासहित २७ जनाको शव फेला परेको छ।

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनासहित १९ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक तथा पहिचान नखुलेका २८ जनासहित ६४ जनाको शव फेला परेको छ।

यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनासहित नौ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनासहित २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

Facebook Comments Box