श्रम स्वीकृति प्रदेशबाटै, स्वास्थ्य परीक्षण गर्न भने काठमाडौँ आउनै पर्ने

काठमाडौँ, २७ पुस – सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई प्रदेशबाटै श्रम स्वीकृति दिन सुरु गरे पनि स्वास्थ्य परीक्षणका लागि भने काठमाडौं धाउनै पर्ने भएको छ। पोखरा, जनकपुर, भैरहवा र विराटनगरबाट श्रम स्वीकृति दिन थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए। तर स्वास्थ्य परीक्षणका लागि भने काठमाडौं आउने पर्ने बाध्यता कायम छ।

वैदेशिक रोजगारीमा जानेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिँइदै आएको छ। यसअघि अनलाइनमार्फत सेवा सुरु भए पनि काठमाडौंको ताहचलबाट मात्रै काम हुँदै आएको थियो। यहाँबाट मात्रै श्रम स्वीकृति दिँदा भीडभाड बढेको भन्दै सेवा प्रदेशमा विस्तार गरिएको छ।

यसअघि ताहचलबाटै मात्र श्रम स्वीकृति दिँदा पनि आवेदन दिन जहाँबाट पनि सकिन्थ्यो। ताहचल पुग्नै पर्ने बाध्यता थिएन। तर श्रम स्वीकृति दिने काम ताहचलका कर्मचारीले मात्रै गर्थे। अनलाइन प्रणालिबाट जो पहिले आउँछ, उसैलाई श्रम स्वीकृति दिँदा पनि कतिपयको टिकट छुट्ने अवस्था थियो।

भोलि नै उडान छ भन्दै कार्यालयमा श्रम स्वीकृतिका लागि ताकेता गर्नेको भीड लाग्ने गरेको थियो। प्रदेश कार्यालयबाट पनि श्रम स्वीकृति दिँदा सेवाग्राही बाँडिने भएकाले भीडभाड कम हुने आचार्यले बताए। प्रदेशबाट श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारीमा हुने ठगी पनि कम हुने महानिर्देशक आचार्य बताउँछन्।

‘वैदेशिक रोजगारीमा जानेहरु अहिलेसम्म एजेन्टको भरमा थिए। तर अब प्रदेशमा पनि म्यानपावरका शाखा कार्यालयहरु खुल्छन्। त्यसपछि उनीहरुले सिधै शाखा कार्यालयमा सम्पर्क गर्नेभए। एजेन्टलाई कारबाही गर्न प्रमाण हुँदैनथ्यो। कार्यालयमा बारोबार गर्दा कारबाही गर्न पनि हामीलाई सजिलो हुने भो,’ महानिर्देशक आचार्यले भने।

अभिमुखीकरण दिने संस्थाहरु अहिले पनि प्रदेशमा रहेको उनले बताए। भिसा प्रक्रियाका लागि पनि संस्थागत श्रम स्वीकृति लिएर जानेका लागि म्यानपावरले नै पासपोर्ट संकलन गर्ने भएकाले श्रमिकहरु काठमाडौं आउनु पर्ने बाध्यता हुँदैन।व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर जानेको हकमा भने भिसाका लागि पनि काठमाडौं धाउनै पर्ने बाध्यता छ।

स्वास्थ्य परीक्षण काठमाडौंमा मात्रै

सरकारले श्रम स्वीकृति अनलाइनबाटै दिन थाले पनि स्वास्थ्य परीक्षणका लागि भने काठमाडौं आउनै पर्ने बाध्यता छ। सरकारबाट स्वास्थ्य परीक्षणका लागि अनुमति लिएका स्वास्थ्य संस्थाहरु काठमाडौं केन्द्रित छन्। त्यस्ता संस्था सम्बन्धित देशले नै छनौट गरेका हुन्छन्।

कतार जाने श्रमिकको काम कतार भिसा सेन्टरबाटै हुँदै आएको छ। कतार भिसा सेन्टर काठमाडौंमा मात्रै छ। यस्तै साउदी जाने श्रमिकको पनि स्वास्थ्य परीक्षण गाम्काले गर्दै आएको छ। गाम्का पनि काठमाडौंमै छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पनि काठमाडौंमै छन्। वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न देशअनुसार छुट्टाछुट्टै स्वास्थ्य संस्थाहरु सूचीकरण भएका छन्।

तर ती सबै काठमाडौंकेन्द्रित छन्। स्वास्थ्य संस्थालाई उपत्यकाबाहिर विस्तार गर्न आग्रह गरिरहेको आचार्यले बताए। ‘हामीले औपचारिक रुपमै बैठक गरेर प्रदेशका राजधानीमा पनि स्वास्थ्य संस्था विस्तार गर्न आग्रह गरेका छौं। दूतावासमार्फत पनि आग्रह गरेका छौं।

ढिलो चाँडो त्यो पनि उहाँहरुले गर्नुहोला भन्ने हाम्रो विश्वास छ,’ आचार्यले भने, ‘त्यो पनि भयो भने काठमाडौं नआई सबै काम सकिन्छ। अन्तर्राष्ट्रिय उडान भए त्यतैबाट जान सक्नु भयो नभए जहाज चढ्न मात्रै काठमाडौं आए हुने भो।’ वैदेशिक रोजगार व्यवसायी संघको तदर्थ समितिका संयोजक विमल ढकाल श्रम स्वीकृति प्रदेशमा लैजाँदा ताहचालको चाप कम भए पनि नागरिकलाई भने तत्काल कुनै सुविधा नहुने बताउँछन्।

‘जहाँ भए पनि अनलाइनबाट श्रम स्वीकृति लिने हो। भौतिक रुपमा उपस्थित हुन नपर्ने भएपछि के फरक पर्यो र? मेडिकल गर्न काठमाडौं आउनै पर्ने व्यवस्था भएसम्म यसले त्यति ठूलो अर्थ राख्दैन,’ ढकालले भने। म्यानपावर कम्पनीका शाखा अहिले पनि प्रदेशमा रहेको र नभएका स्थानमा पनि खोल्न समस्या नभएको ढकाल बताउँछन्।

‘बाहिरबाटै मेडिकल नभएसम्म यसको प्रभावकारिता नै कम रहन्छ। ताहचल कार्यालयमा हुने भीडभाड कम हुने भो, नभए विमान चढ्न पनि काठमाडौं आउनु पर्ने बाध्यता छँदैछ,’ ढकालले भने।

Facebook Comments Box