प्रधानमन्त्री बालेनसँग भोलि प्रतिनिधिसभामा सांसदको सवालजवाफ हुँदै
काठमाडौँ, ९ भदौ – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सांसदबीच भोलि भदौ १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा सवालजवाफ हुने भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले प्रश्न दर्ता गराएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँग प्रश्न गर्न १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले तोकिएको कोटाभन्दा कम प्रश्न दर्ता गराएका छन्। रास्वपाका सांसदले सात वटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीन वटा प्रश्न मात्र दर्ता भएको संसद् सचिवालयले जनाएको छ।
अन्य दलका सांसदले भने आफूलाई तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय निर्धारण गर्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपाबाट वर्षमान पुन र प्रमेश हमाल तथा नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्ने तयारी गरेका छन्।
यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको थियो। प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा बोल्ने क्रममा ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदले संसद्मा निरन्तर विरोध जनाउँदै आएका थिए।
सोही विषयमा समेत प्रधानमन्त्रीसँग जवाफ मागिँदै आएपछि सभामुखले सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको हो। प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। आगामी बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुहुनेछ।

