सहमति कार्यान्वयन नभए पुनः आमरण अनशनमा बस्ने इन्टर्न चिकित्सकको चेतावनी

काठमाडौँ, ९ भदौ – सरकार र चिकित्सा शिक्षा आयोगसँग विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्। ‘एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’का संयोजक डिल्ली हरिजनले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमार्फत यस्तो चेतावनी दिनुभएको हो।

विज्ञप्तिमा गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय गरी कार्यान्वयन गर्नुपर्ने भए पनि १६ दिन बितिसक्दा कुनै प्रगति नभएको उल्लेख गरिएको छ। इन्टर्न चिकित्सकहरूले मुख्य रूपमा जीवन निर्वाह भत्ता वृद्धि गर्न माग गरेका छन्।

कार्यदलको प्रतिवेदनले अस्पतालमा अनिवार्य समय, रात्रिकालीन सेवा तथा अतिरिक्त कार्यबोझलाई ध्यानमा राख्दै इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो। हालको महँगी तथा आवास, खाना र यातायात खर्चलाई ध्यानमा राख्दै उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।

यस्तै, श्रम ऐन, २०७४ अनुसार आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टासम्बन्धी व्यवस्था सरकारी र निजी दुवै शिक्षण संस्थामा समान रूपमा लागू गर्नुपर्ने माग गरिएको छ। निजी मेडिकल कलेजले विभिन्न शीर्षकमा लिने अतिरिक्त शुल्क खारेज गरी सरकारले तोकेको शुल्क मात्र लिनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गर्नुपर्ने तथा विद्यार्थीका लागि छात्रावास अनिवार्य नभई वैकल्पिक वा ऐच्छिक बनाउनुपर्ने उनीहरूको माग छ।

विगतमा पदाधिकारी अभावका कारण निर्णय प्रक्रिया ढिलो भएको भनिए पनि अहिले सम्बन्धित निकायमा आवश्यक पदाधिकारी पूर्ण भइसकेको अवस्थामा समेत निर्णयमा ढिलाइ हुनु दुःखद भएको इन्टर्न चिकित्सकहरूको भनाइ छ। आफूहरूको मागमाथि फेरि प्रक्रिया लम्ब्याउने, आलटाल गर्ने वा एउटा निकायबाट अर्को निकायमा विषय सार्ने प्रयास गरिए त्यसको कुनै औचित्य नरहने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।

मुभमेन्टले चिकित्सा शिक्षा आयोगको ‘फुल हाउस’ बैठकबाट मागका विषयमा स्पष्ट निर्णय गर्न सरकार, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा विश्वविद्यालयका पदाधिकारीसँग आग्रह गरेको छ। माग सम्बोधनमा विगतमा जस्तै आलटाल गरी निर्णय अनावश्यक रूपमा लम्ब्याइए जुनसुकै बेला पुनः आमरण अनशनमा बस्न बाध्य हुने संयोजक हरिजनले चेतावनी दिनुभएको छ।

Facebook Comments Box