सर्लाहीमा ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ
काठमाडौँ, ४ भदौ – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोलाबाट ६६० किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो, बर्दिबास शाखाबाट बुधबार खटिएको टोलीले डाइनीखोलाका दुई छुट्टाछुट्टै स्थानमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो। गाँजा लुकाएर राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाका अनुसार नरबहादुर थिङले २६ वटा बोरामा प्याक गरेर ५६० किलो गाँजा लुकाएर राखेका थिए। त्यस्तै, जेसुनमाया थिङले आफ्नो गोठमा लुकाएर राखेको अवस्थामा थप १०० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि ब्युरोले इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाएको छ। प्रहरीले घटनामा गाँजाको स्रोत, यसको ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

