बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्यो

हेटौंडा, १ भदौ –  बागमती प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अब संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुहुनेछ। नेकपा र नेकपा एमालेबीचको सहमतिअनुसार बागमतीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।

तर, १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्नेमा नेकपा र एमालेसँग ५१ सांसद मात्रै छन्। त्यसैले अन्य दलको समर्थन आवश्यक देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ सांसद रहेकाले सरकार गठनमा राप्रपाको समर्थन निर्णायक हुने देखिएको छ। राप्रपाले उपयुक्त समयमा निर्णय गर्ने जनाएको छ।

यसैबीच, मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन एमालेभित्र पनि रस्साकस्सी चलिरहेको छ। वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ।

किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न एमाले संसदीय दलको बैठक मंगलबार बिहान हेटौंडामा बस्दैछ। प्रस्ताव पारित भए थापा मगर संसदीय दलको नेता बन्नुहुनेछ। यससँगै बागमती प्रदेशले केही दिनभित्र नयाँ मुख्यमन्त्री पाउने भएको छ।

Facebook Comments Box