बाढीपहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

काठमाडौँ, १ भदौ – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडकखण्ड प्रभावित भएको जनाएको छ। बागमती प्रदेशअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार बिहान पौने ६ बजेदेखि सडक बन्द हुँदा काठमाडौँतर्फ आउने र बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।

बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग र कान्ति लोकपथमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा बन्द छ। रसुवाको उत्तरगया गाउँपालिका–स्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि साउन ८ गतेदेखि नै पूर्णरूपमा अवरुद्ध छ।

कोशी प्रदेशमा इलामको राजदुवालीमा पहिरोका कारण मेची राजमार्ग पूर्णरूपमा बन्द छ। त्यहाँ वैकल्पिक बाटोबाट भने आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ। सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ। भोजपुरको बोखिममा पहिरो पन्छाएर मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

गण्डकी प्रदेशमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–स्थित रुप्सेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। मुस्ताङको कैकु खोलामा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–स्थित रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। त्यहाँ वैकल्पिक बाटोबाट आवतजावतको व्यवस्था गरिएको छ। बागलुङको कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकखण्ड भने पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।

लुम्बिनी प्रदेशको प्युठानमा साउन ३१ गते खसेको पहिरोका कारण भिंगृ–स्वर्गद्वारी सडकखण्ड पूर्णरूपमा बन्द छ। कर्णाली प्रदेशमा बाढी र पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड दुई स्थानमा अवरुद्ध भएको छ। आठबीसकोटको रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्णरूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

यस्तै, सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा आवश्यक मर्मतको काम गरिरहेका छन्। तर निरन्तर वर्षा भइरहेकाले सडक खुलाउने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बाढीपहिरोको जोखिम कायम रहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र गन्तव्यतर्फ जान र जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

Facebook Comments Box