मनसुन सक्रिय, लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर नेपालनजिक रहेको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ । सोमबार देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । साथै, वर्षाका कारण सडक तथा यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

