श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ, १ भदौ – श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर तथा नागस्थान, नागदह र कुण्डमा पूजा गरी यो पर्व मनाउने परम्परा छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
धार्मिक मान्यताअनुसार नागको तस्वीर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायत जीवबाट हुने भयबाट बच्नुका साथै अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत सुरक्षा हुने विश्वास छ । वैदिककालदेखि नै नागपूजाको प्रचलन रहेको मानिन्छ । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नागलाई खुसी पार्दा वर्षा र पानी पर्याप्त हुने विश्वासका कारण पनि नागपूजा गर्ने परम्परा बसेको बताइन्छ । वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले यो दिन नागपूजाका लागि विशेष मानिएको उल्लेख छ ।
आठ नागको पूजा गर्ने परम्परा
नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने वैदिक परम्परा छ । ब्राह्मण पुरोहितबाट विधिपूर्वक पूजा गरिएका नागका तस्वीर घरको मूलढोकामाथि टाँस्ने गरिन्छ । आजका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ ।
नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ । भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले सनातन परम्परामा नागको विशेष धार्मिक महत्त्व रहेको छ । गणेशको एक हातमा नाग रहेको तथा लक्ष्मण र बलरामलाई शेषनागको अवतारका रूपमा मानिने धार्मिक कथन छ ।
नागपोखरी, टौदहलगायत स्थानमा विशेष पूजा
नागपञ्चमीका अवसरमा आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिँदैछ । श्रद्धालुले नागलाई दूध, अक्षता, दुबो, खीर, रोटीलगायत प्रसाद चढाउने गरेका छन् । नागपञ्चमीसँग विभिन्न धार्मिक किंवदन्ती पनि जोडिएका छन् । किसानले नागका बच्चा मारेपछि नागिनीले किसानको परिवारलाई मार्न खोजेको र किसानकी छोरीले नागिनीको पूजा गरी दूध चढाएपछि परिवारलाई पुनर्जीवनको वरदान पाएको कथन तीमध्ये एक प्रमुख किंवदन्ती हो ।
यही घटनाको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ । त्यस्तै, गुरु गोरखनाथले नौ नागमाथि आसन बनाएर तपस्या गर्दा वर्षा रोकिएको र उहाँका गुरु मत्स्येन्द्रनाथ नेपाल आएपछि नाग मुक्त भई वर्षा भएको धार्मिक प्रसङ्ग पनि नागपञ्चमीसँग जोडिएको छ ।
प्रकृति संरक्षणसँग पनि जोडिएको पर्व
नागपञ्चमी धार्मिक आस्थासँगै प्रकृति र जैविक विविधताको संरक्षणसँग पनि जोडिएको पर्वका रूपमा लिइन्छ । नाग, सर्पलगायतका जीवले पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले उनीहरूको संरक्षण आवश्यक रहेको विज्ञहरू बताउँछन् । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको क्रमसमेत सुरु हुने भएकाले नेपाली समाजमा यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ ।

