निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ, ३१ साउन – मुलुकमा उत्पादन भइरहेको विद्युत्को बजार विस्तारका लागि निजी क्षेत्रलाई समेत विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन् । उनीहरूले विद्युत् बजार विस्तारका लागि नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा सहभागी विज्ञहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजारका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको अपार जलस्रोतलाई विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सरकार सक्रिय रहेको बताउनुभयो । यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ भने १८ अर्ब रुपैयाँभन्दा बढी खुद बचत भएको छ । उहाँले पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत नेपाललाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाउने लक्ष्य रहेको बताउनुभयो ।

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा गरिए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान विद्युत् ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसैका आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने धारणा राख्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले निजी उत्पादकले आफ्नो विद्युत्का लागि ग्राहक खोज्न सक्ने व्यवस्था भएको खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा थप अवसर सिर्जना गर्ने बताउनुभयो । इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताउनुभएको छ ।

Facebook Comments Box