मुग्लिन–काठमाडौं सडक दुईतर्फी सञ्चालनमा, पहिरो पन्छाउन आठ घण्टा लाग्यो

काठमाडौँ, ३१ साउन – पहिरो पन्छाएपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा गएराति १० बजेर २५ मिनेटमा रुखसहितको सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउन पाँचवटा उपकरण प्रयोग गरिएको र करिब आठ घण्टाको प्रयासपछि आज बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आए पनि लामो समयसम्म राजमार्ग अवरुद्ध भएका कारण विभिन्न स्थानमा सवारीसाधनको जाम भने कायमै रहेको प्रहरीले जनाएको छ । वर्षायाममा पहिरोको जोखिम कायम रहेकाले मुग्लिन–काठमाडौं सडकखण्डमा यात्रा गर्दा सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।

Facebook Comments Box