रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, पाँच दिनमा मृतक संख्या १७ पुग्यो

रोल्पा, ३१ साउन  – अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षापछि पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएको थियो । पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य गरिएको प्रहरीले जनाएको छ ।

यस घटनासँगै बुधबारयता रोल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । घटनामा घाइते दुई जनाको बुटवलमा उपचार भइरहेको छ ।

यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठे क्षेत्रमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो । पछिल्ला पाँच दिनमा रोल्पाको पूर्वी क्षेत्रमा पहिरोका घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box