शिक्षा ऐन निर्माण अघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा ‘शिक्षा संवाद’ अभियान गर्ने

काठमाडौँ, ३० साउन – प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ । मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम हुने जनाइएको छ ।

अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिनेछ ।कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन् । छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ ।

मन्त्रालयका अनुसार संवादमार्फत शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सरोकारवालाको सुझाव तथा धारणा संकलन गरिनेछ । प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई प्रस्तावित शिक्षा ऐन तथा नीति निर्माण प्रक्रियामा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक र सरोकारवालामैत्री बनाउँदै देशभरबाट प्राप्त सुझावका आधारमा ऐनलाई प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य रहेको छ ।

Facebook Comments Box