आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आयोगको आग्रह
काठमाडौँ, २२ माघ – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई मानवअधिकारमैत्री बनाउन आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आज आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन तथा पर्यवेक्षणको प्रभावकारिताबारे गरेको छलफलमा सहभागीहरूले निर्वाचनलाई मानवअधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
आयोगको अनुगमनबाट केही राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एकअर्का दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अरूको मर्यादामा आँच आउने सामग्री डिजिटल प्रविधिमार्फत प्रचारप्रसार गरेको, मतदातालाई कुन दल वा नेतालाई भोट दिने भनेर प्रश्न सोध्दै भिडियो वा अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राखेर गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको पाइएको जनाएको छ।
आयोगका अनुसार मानव अधिकार अनुगमनका क्रममा निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्ने भनी समाचार तयार गरी भ्रम सिर्जना गरिएको तथा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको अवस्था देखिएको छ।
त्यस्तै, केही राजनीतिक दलका कार्यालयमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग छुट्टाछुट्टै गरेको छलफलमा पनि यस्ता विषय उठाइएकाले अनुगमनबाट ती विषय पुष्टि भएको आयोगले जनाएको छ।

