पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौँ, ३० साउन – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा बाढी, पहिरो तथा सडक कटानका कारण यातायात अवरुद्ध भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखेर दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सो क्षेत्रमा वैकल्पिक सडकबाट आवतजावत गर्न सकिने प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो तथा लिपिङमा पहिरो खसेर सडक भासिँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्णरूपमा बन्द भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा पहिरो खसेपछि घोराही–थबाङ सहिद मार्गका दुई स्थान पनि पूर्णरूपमा अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक काम भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box