सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता भएको घटनामा सहमति, मध्यपहाडी लोकमार्ग सञ्चालनमा
काठमाडौँ, २१ साउन – सिन्धुलीको फिक्कल–२ मा बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेर तीन जना बेपत्ता भएको घटनामा पीडित पक्ष र बस व्यवसायी कम्पनीबीच सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार साँझ भएको सहमतिपछि तीन दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ ।
सहमतिअनुसार कारको बीमा दाबीबाट प्राप्त हुने रकम पीडित परिवारलाई उपलब्ध गराइने, कानुनबमोजिमको पाँच लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने, परिवारका एक सदस्यलाई रोजगारी र सन्तानको अध्ययनको जिम्मेवारी लिने व्यवस्था गरिएको छ । साथै, गणेश हिमाल–तराई यातायात प्रालिले प्रत्येक पीडित परिवारलाई थप दुई लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।
गत सोमबार सडक छेउमा रोकिएको कारलाई तीव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका पूर्ववडाध्यक्ष दिलकुमार लामा, गणेश थापा र सुजन बलमपाकी मगर बेपत्ता भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले तीन दिनदेखि खोजी कार्य जारी राखे पनि बेपत्ताहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

