अरौंदी खोलाले बगाएका सलिम मगर मृत फेला

स्याङ्जा, ३० साउन – स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन् । पुतलीबजार नगरपालिका–३ बाडखोलाका मगर पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउँदै गर्दा अरौंदी खोलाको कजवे तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनको ग ११ प ८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो ।

खोजी गर्ने क्रममा मगरलाई पुतलीबजार नगरपालिका–१३ गैरीजाँगरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शव खोलाबाट बाहिर निकालेर मुचुल्का तयार गरिएको छ । शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिनुभयो ।

Facebook Comments Box