बिमस्टेकको पाँचौ शिखर सम्मेलन आज श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै, प्रधानमन्त्रीले भने काठमाडौंबाटै भर्चुअल सम्बोधन गर्दै

काठमाडौं, १६ चैत – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलन आज (बुधबार) श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ।

सम्मेलनले बिमस्टेक बडापत्र, बिमस्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिमस्टेक कन्भेन्सन अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ अनुमोदन गर्नेछ। सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भने काठमाडौंबाटै भर्चुअल सम्बोधन गर्दै छन्।

यसअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक भएको थियो। जसमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भए। अहिले उनी उतै छन्। ​ याे पनि : ​श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेसँग परराष्ट्रमन्त्री खड्काको भेटवार्ता

बिमस्टेकको पाँचाैँ शिखर सम्मेलन कोरोना महामारीका कारण यसअघि तीनपटक स्थगन भयाे। बुधबार उक्त सम्मेलन हाइब्रिड फरम्याटमा हुने भएकाे हाे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भौतिक रुपमै सहभागिता जनाउने भएका छन्।

पछिल्लोपटक डिसेम्बर ५ का लागि प्रस्तावित सम्मेलन अन्तिम समयमा कोरोनाको कारण देखाउँदै स्थगन भएको थियो। सन् २०२० जनवरीमा पनि शिखर सम्मेलन गर्ने तयारी थियो। तर कोरानाका कारण राेकियाे। त्यसपछि गत अगस्टमा बिमस्टेक शिखर सम्मेलन गर्ने भनियो। तर बिमस्टेकको अध्यक्ष मुलुक श्रीलंकाको अनुरोधमा स्थगन गरियाे।

सन् २०१८ अगस्टमा नेपालले बिमस्टेकको चौथो सम्मेलन गरेयता अर्को सम्मेलन हुन सकेकाे थिएन। त्यसबेला तत्कालीन अध्यक्ष मुलुक नेपालले श्रीलङ्कालाई अध्यक्षता हस्तान्तरण गरेको थियो।

शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउँछन्। शिखर सम्मेलन ‘बिमस्टेकको प्रोसेस’ अन्तर्गत सर्वोच्च निकाय हो। यसले नै बिमस्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निर्णय गर्छ।

सन् २००४ मा थाइल्यान्डकाे बैंककमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनले सम्भव भएसम्म हरेक दुई वर्षमा सम्मेलन गर्ने सहमति गरेकाे थियो। तर सन् २००४, २००८, २०१४ र २०१८ गरी केवल चारपटक सम्मेलन भए।

Facebook Comments Box