लगातारको वर्षासँगै बाढी र पहिरोले मुख्य राजमार्ग प्रभावित

काठमाडौँ, २७ साउन – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् । बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी सडकअन्तर्गत बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।त्यस्तै, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू हुने जनाइएको छ ।

सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङमा पहिरो खसेपछि तातोपानी जाने बाटो पूर्ण रूपमा बन्द भएको हो । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन लामो समय लाग्न सक्ने बताइएको छ ।

कोशी प्रदेशमा इलाम नगरपालिका–९ राजदुवालीस्थित झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्डमा भने वैकल्पिक बाटो रहेको छ । भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ । वैकल्पिक बाटोसमेत रहेको उक्त स्थानमा हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशमा बागलुङ र लमजुङका सडक पहिरोका कारण प्रभावित भएका छन् । बागलुङको जैमिनी नगरपालिका–बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालनमा छ । दुईतर्फी यातायात सञ्चालन गर्न अझै समय लाग्ने देखिएको छ ।लमजुङको मध्यनेपाल नगरपालिका–बिमिरेभञ्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेशमा बाढीले सडक सञ्जाल प्रभावित बनाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन मर्कामा परेका छन् । सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास गरिरहेको जनाइएको छ ।

Facebook Comments Box