निजामती कर्मचारीमा राजीनामाको लहर, सचिवदेखि खरिदारसम्मले छाड्दै सेवा
काठमाडौँ, २७ साउन – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामा दिने क्रम बढेको छ । सरकारले अघि सारेको नीति र दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै सचिवदेखि खरिदार तहसम्मका कर्मचारीले राजीनामा दिन थालेका हुन् ।
मंगलबार मात्रै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा पेस गरेका छन् । उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
साउन १३ गते सञ्चार मन्त्रालयमा सरुवा हुनुभएका सचिव पोखरेलले दुई सातामै राजीनामा दिनुभएको हो । उहाँको सेवा अवधि अझै एक वर्षभन्दा बढी बाँकी थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि असन्तुष्ट रहनुभएका पोखरेलले अन्ततः राजीनामा दिनुभएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अधिकारी भने आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो । यसअघि राजीनामा दिनेमा सहसचिवसम्मका कर्मचारी थिए । सरकारले ५५ वर्ष उमेर पूरा गरेका तथा ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाश दिने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेको बताइएको छ ।
राष्ट्रिय किताबखानाको अभिलेखअनुसार हालसम्म करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो सङ्ख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका छन् ।

