लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

रौतहट, २७ साउन – रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव फेला परेको छ । बुधबार बिहान करिब साढे ६ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक दुई बालबालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेको शव देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीय छोरी सवनम खातुनको हो । यस्तै, सोही स्थानकी शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन अझै बेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीनै बालबालिका डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर तेजप्रसाद भट्टराईको कमान्डमा नौ जना प्रहरी घटनास्थल पुगेका थिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा सात जनाको टोलीसमेत खोजी तथा उद्धारमा परिचालन गरिएको थियो ।

बेपत्ता रौशन खातुनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट असई भीमबहादुर पुनको कमान्डमा नौ सदस्यीय डुबान उद्धार टोली रबर बोटसहित घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालिकाको खोजीलाई तीव्रता दिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box