राष्ट्रियसभाको बैठक बस्दै, आजै विभिन्न सात वटा संसदीय समितिको बैठक पनि बस्दै

काठमाडौँ, २७ साउन – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजेर १५ मिनेटमा सिंहदरबारमा बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैबीच, आज विभिन्न सात वटा संसदीय समितिको बैठक पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिनेछ ।

महिला तथा सामाजिक मामिला समितिमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको संस्थागत अवस्था र अनुगमन निष्कर्षमाथि छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल हुनेछ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ । साथै, आगामी कोप–३१ मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिइनेछ ।आजै उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति र अन्य सम्बन्धित संसदीय समितिका बैठक पनि तय भएका छन् ।

Facebook Comments Box