विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौँ, २७ साउन – विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि अन्तरराष्ट्रिय युवा दिवस मनाउन थालिएको हो ।
दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस र पैरवी गर्ने तथा नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता बढाउनु रहेको छ । साथै, युवामैत्री शासन प्रवद्र्धन, साझेदारी तथा लगानी अभिवृद्धि र युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्था तथा निकायबीच सहकार्य बढाउनु दिवसको अर्को उद्देश्य हो ।
दिवसका अवसरमा आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ । यस्तै, बिहान भृकुटीमण्डपदेखि कमलादीस्थित मूल समारोहस्थलसम्म युवा जागरण दौड आयोजना हुँदैछ । मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धन विषयमा उच्चस्तरीय प्यानल छलफलसमेत हुनेछ ।
दिवस युवा जागरणका लागि विश्वव्यापी तथा साझा अभियानका रूपमा मनाइँदै आएको छ । यसले युवा केन्द्रित बहस र पैरवीसँगै नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता र साझेदारी बढाउन प्रेरणा दिने विश्वास गरिएको छ । सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धन गर्दै अघि बढ्ने सङ्कल्प पनि दिवसका अवसरमा गरिँदै आएको छ ।
दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । साथै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यही साउन १ गते बसेको बैठकले अन्तरराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह र शक्ति भएको उमेर समूहका रूपमा लिइन्छ ।

