मदन–आश्रितको विचारले परिवर्तनको यात्रामा प्रेरित गरिरहेको छ : ओली

काठमाडौं, ३  जेठ – केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको वैचारिक विरासतले जनताको पक्षमा दृढतापूर्वक उभिन तथा परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरित गरिरहेको बताउनुभएको छ । मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा दुवै नेताको निधन भएको ३३ वर्ष बितिसक्दा पनि उहाँहरूको अभाव झन् गहिरिँदै गएको उल्लेख गर्नुभएको हो ।

उहाँले मदन भण्डारीलाई आफ्नो नेता, साथी तथा सहयोद्धाका रूपमा स्मरण गर्दै जनताको बहुदलीय जनवादका अगुवा र आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने नेताका रूपमा चित्रण गर्नुभएको छ । त्यसैगरी जीवराज आश्रितलाई कुशल सङ्गठकका रूपमा सम्झनुभएको छ । “मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,” ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित वैचारिक मार्गदर्शन भएको बताउँदै त्यसले अझै पनि पार्टीपङ्क्ति र आमजनतालाई जनताको पक्षमा दृढ रहन प्रेरित गरिरहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पनि जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा अघि बढाइएको दाबी गर्नुभएको छ । पछिल्लो दशकमा उक्त अभियानले मानवीय विकास र भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको उहाँको भनाइ छ ।

Facebook Comments Box