ताल्चा लागेका घर, एक्लिएका बूढापाका
पाल्पा, २३ असार – पाल्पाका धेरै गाउँमा अहिले घरका ढोकामा ताल्चा झुण्डिएका छन्। रोजगारी, अध्ययन र व्यवसायको खोजीमा युवापुस्ता सहर र विदेशतिर लागेपछि एक समय चहलपहलले भरिएका बस्तीहरू सुनसान बन्दै गएका छन्। कहिल्यै खेतबारी, मेलापात र सामूहिक गतिविधिले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र अडिएका छन्।
गाउँमा बस्ने अधिकांश बूढापाका छोराछोरी, नातिनातिना र परिवारका सदस्यको प्रतीक्षामा दिन बिताइरहेका छन्। चाडपर्व वा विशेष अवसरमा मात्र परिवार घर फर्कने भएकाले वर्षको अधिकांश समय उनीहरू एक्लोपनसँग जुध्न बाध्य छन्। तिनाउ गाउँपालिका–७ की ७९ वर्षीया धनकला बगालेका लागि बुढेसकाल झन् कठिन बन्दै गएको छ। उमेरले गाह्रो काम गर्न नसक्ने अवस्था छ।
घरका सामान्य काम गरेर दिन कटाउन खोजे पनि दुःखसुख साट्ने छिमेकीहरू बसाइँसराइ गर्दै बजार झरेपछि गाउँमा एक्लोपन बढेको उहाँ बताउनुहुन्छ। यस्तै, तानसेन–अर्चलेका रामबहादुर बस्याललाई पनि पुराना दिनहरूको सम्झनाले बारम्बार भावुक बनाउँछ। उहाँका अनुसार एक समय गाउँमा ५०–६० घरधुरी थिए। उर्वर जमिनमा सबैले पुग्ने खाद्यान्न, तरकारी र फलफूल उत्पादन गर्थे। पशुपालन पनि सहज थियो।
तर पछिल्लो एक दशकमा छिमेकीहरू क्रमशः तराई र सहरतिर बसाइँ सरेपछि गाउँको पुरानो रौनक हराएको छ। मेलापात र घाँसदाउरामा सँगै हिँडेका धेरै साथी गाउँ छोडिसकेका छन्। यो अवस्था तानसेन वा कचल क्षेत्रको मात्र होइन, पाल्पाका अधिकांश ग्रामीण बस्तीको साझा चित्र हो। सुविधा, रोजगारी र अवसरको खोजीमा सहर तथा तराईतर्फ बसाइँसराइ बढ्दै जाँदा गाउँका घरहरू खाली भएका छन्।
वैदेशिक रोजगारीको प्रभाव पनि उत्तिकै देखिन्छ। वर्षौंदेखि बन्द रहेका कतिपय घर जीर्ण बन्दै गएका छन् भने केहीका आँगन झारपातले ढाकिएका छन्। खेतीयोग्य जमिन बाँझिँदै जाँदा कृषि उत्पादन र स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको छ। गाउँमा बसिरहेका वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक सहयोग पाउन कठिनाइ हुने गुनासो गर्छन्।
पछिल्ला वर्षमा यातायात, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता पूर्वाधारमा उल्लेखनीय सुधार भए पनि गाउँ छोड्ने क्रम भने रोकिएको छैन। ‘गाउँघरमै सिंहदरबार’ भन्ने अवधारणाअनुसार स्थानीय सरकार गाउँमै पुगे पनि पहाडी जिल्लाबाट सहर र तराईतर्फको बसाइँसराइ रोक्नु स्थानीय तहका लागि चुनौती बनेको छ। केही स्थानीय तहले युवालाई गाउँमै टिकाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार युवाको पलायन रोक्न नीति तथा कार्यक्रममार्फत विभिन्न योजना अघि बढाइएको छ। कृषि क्षेत्रको विकासले रोजगारी सिर्जना हुने र बसाइँसराइ कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “अब जसरी पनि बसाइँसराइ रोक्नुपर्नेछ।”
रिब्दीकोटका गोविन्द पोखरेलका अनुसार स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने तथा स्थानीय स्रोतसाधनको पहिचान र उपयोगमार्फत स्वरोजगार सिर्जना गर्न नसकिए गाउँमा वृद्धवृद्धाबाहेक अरू कोही पनि नबस्ने अवस्था आउन सक्छ।

