मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, २५ साउन – देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात, र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईसहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box