देशभर मनसुनी वायुको प्रभाव, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २३ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशलगायत हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, आज राति पनि देशभर बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा, पर्यटन र पर्वतारोहणसमेत प्रभावित हुन सक्ने जनाइएको छ।

