लागुऔषधसहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौँ, २४ साउन – प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट उनीहरू पक्राउ परेका हुन्। प्रहरीले भक्तपुरका सल्लाघारी र लोकन्थली, रूपन्देहीको ठुटेपिपल र उदयपुर, नवलपरासी पश्चिमको पिप्रहवा, मकवानपुरको हेटौँडा, पाल्पाको रामपुर तथा दाङको तुलसीपुरबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, झापाको अर्जुनधारा र कनकाई, धनकुटाको पाख्रीबास तथा बाराको महागढीमाईबाट पनि पक्राउ परेका छन्। दाङबाट मात्रै पाँच जना र झापाको अर्जुनधाराबाट तीन जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई गत बिहीबार र शुक्रबार पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

