वर्षाले देशभरका प्रमुख सडक प्रभावित, यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह
काठमाडौँ, २२ साउन – लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्डमा यातायात अवरुद्ध भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरिएको छ।
इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा अरनिको राजमार्ग, दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो र सडक कटानका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखामा भने खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम अझै कायम रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

