वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएपछि विवाद

कैलाली, ३१ जेठ – कैलालीमा वन अतिक्रमण हटाउने क्रममा वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना विवादमा परेको छ। भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक छेउमा राखिएको पुरानो टेम्पोलाई डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले भिरबाट धकेलेर खसालेका हुन्। उक्त टेम्पो प्रयोग गरेर स्थानीय धनादेवी धामीले खुद्रा सामान बिक्री गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्।

धामीका अनुसार वन कार्यालयका कर्मचारीले टेम्पोभित्र रहेका सामान झारिसकेपछि आफूले टेम्पो घर लैजान अनुमति मागेकी थिइन्। तर, त्यसलाई बेवास्ता गर्दै कर्मचारीले टेम्पोलाई सडकबाट भिरमा खसालिदिएका हुन्। घटनापछि सामाजिक सञ्जालमा वन कार्यालयको कार्यशैलीको आलोचना भइरहेको छ।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने उक्त टेम्पो वन तथा सडक क्षेत्र अतिक्रमण गरेर राखिएको र हटाउनका लागि विगत पुस महिनादेखि पटक–पटक आग्रह गरिएको दाबी गरेका छन्। उनले टेम्पो सडकमा चलाउन नमिल्ने अवस्थाको पुरानो सवारी साधन रहेको र पसलका रूपमा प्रयोग भइरहेको बताए। उनका अनुसार कर्मचारीहरू टेम्पो हटाउन पुगेका बेला सम्बन्धित पक्षबाट गालीगलौज भएपछि कर्मचारी आवेशमा आएर यस्तो घटना भएको हुनसक्छ।

डिभिजन वन कार्यालयले राजमार्ग क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकेको जनाएको छ। घटनाबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेका बेला वन कार्यालयको कदम उचित थियो वा थिएन भन्ने विषयमा बहस भइरहेको छ।

Facebook Comments Box