प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच विधेयक प्रस्तुत हुने

काठमाडौँ, २२ साउन – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न पाँचवटा विधेयक तथा समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐनसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुनेछ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुहुनेछ। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी संशोधन विधेयक, तथा परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसैबीच, आज अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ। ती बैठकहरूमा पर्यटन विधेयक, कारागार तथा हिरासतमा रहेका व्यक्तिको मानवअधिकार अवस्था र सडक निर्माणमा विद्युत् पूर्वाधार व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

Facebook Comments Box