बिपी राजमार्गमा चक्काजाम, स्थानीयको आन्दोलनले सयौँ सवारी रोकिए

महोत्तरी, १६ साउन  — बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीले सडक अवरुद्ध गर्दै आन्दोलन गरेका छन्। गत जेठ ११ गते स्थानीयवासी र वन प्रशासनबीच भएको विवादपछि चार जनामाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयले शनिबार बिहानदेखि राजमार्गमा चक्काजाम गरेका हुन्।

यसअघि कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ता गराउन पहल गर्ने जिम्मेवारी बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई दिएको थियो। सोहीअनुसार बिहीबार बर्दिबास नगरपालिकाको सभाहलमा स्थानीय राजनीतिक दल, स्थानीय सरकार, प्रहरी र प्रमुख जिल्ला अधिकारीबीच सर्वदलीय बैठक बसेको थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले तत्काल फिर्ता लिनु आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो। बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले प्रशासनलाई दिइएको तीनदिने अल्टिमेटम शुक्रबार सकिएको जानकारी गराएका थिए। समयसीमा सकिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनकारीले स्थानीयवासीमाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्न, घटनाका दोषी डिभिजन वन कार्यालय (डीएफओ) प्रमुखमाथि कारबाही गर्न तथा घटनापछि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। चक्काजामका कारण बिपी राजमार्गमा सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरका अनुसार कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भएको थियो र हाल अनुसन्धानको प्रक्रिया जारी रहेको छ।

Facebook Comments Box