सप्तरीमा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, बिहान ७ देखि ९ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
सप्तरी, १६ साउन – जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि आज बिहान ७ बजेदेखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न सक्नेछन्।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्युको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ। सूचनामा तोकिएको समयावधिभित्र हुलदङ्गा, अशान्ति फैलाउने वा अन्य कुनै उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
सप्तरीको बोदेबरसाइन क्षेत्रमा साउन १४ गते राति १० बजेदेखि र राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका थिए। जिल्ला प्रशासन कार्यालयले बिहान ९ बजेपछि पुनः कर्फ्यु पूर्ण रूपमा लागू हुने भएकाले शान्ति–सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

