विश्व स्तनपान सप्ताह आजदेखि, स्तनपान प्रवर्द्धनमा जोड
काठमाडौँ, १६ साउन – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) तथा विभिन्न देशका स्वास्थ्य मन्त्रालय र नागरिक समाजका संस्थाको सहकार्यमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ।
यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ। अभियानले आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत प्रभावकारी सहयोग उपलब्ध गराई स्तनपान प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।
डब्ल्युएचओका अनुसार अझै पनि विश्वका धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउन आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा सहयोग प्राप्त गर्न सकेका छैनन्। स्तनपान शिशुलाई आवश्यक पोषण उपलब्ध गराउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो।
डब्ल्युएचओले स्तनपानले आमाको स्वास्थ्यमा पनि उल्लेखनीय लाभ पुर्याउने जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप–२’ मधुमेहजस्ता नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ। विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको तथ्यांकले देखाएको छ। सन् २०१२ मा करिब ३७ प्रतिशत रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपान दर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ।
त्यसैगरी, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ। यद्यपि, धेरै मुलुकमा स्तनपानसम्बन्धी सेवा र सहयोग अझै पर्याप्त विस्तार हुन नसकेको, नीतिको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको तथा विशेषगरी न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कटग्रस्त क्षेत्रमा सेवाको पहुँच कमजोर रहेको डब्ल्युएचओ र युनिसेफले जनाएका छन्।
दुवै संस्थाले स्वास्थ्य संस्थामार्फत दक्ष स्तनपान परामर्श, समुदायमा आधारित सेवा, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अनियन्त्रित प्रवर्द्धनमा प्रभावकारी नियन्त्रणलाई स्तनपान प्रवर्द्धनका प्रमुख उपायका रूपमा औँल्याएका छन्।
डब्ल्युएचओका अनुसार यस्ता कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिन्छ। साथै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलरको लगानीबाट करिब ५९ अमेरिकी डलर बराबरको सामाजिक–आर्थिक प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ।
यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले स्तनपानसम्बन्धी गुणस्तरीय सेवा विस्तार, समुदायमा आधारित परामर्श सुदृढीकरण, अन्तर्राष्ट्रिय आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न तथा मातृ–शिशु स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्।

