धनुषा र सिरहामा कर्फ्यु कायमै, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम,  १६ साउन – धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश कायमै रहेको जनाउँदै बिहान ५ः०० बजेदेखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिदका लागि घरबाहिर निस्कन अनुमति दिएको छ। प्रशासनका अनुसार उक्त अवधिमा सर्वसाधारणले दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिद गर्न सक्नेछन्।

तोकिएको समयपछि भने कर्फ्यु आदेश पूर्ण रूपमा लागू रहनेछ। कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।

त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी तथा विमानस्थल आउजाउ गर्ने यात्रुलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा अफवाह फैलाउने वा उच्छृङ्खल गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

Facebook Comments Box