सुनसरी गोलीकाण्ड : सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति
काठमाडौँ, १५ साउन – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतक ओमप्रकाश मेहता तथा जयप्रकाश मेहताका परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ तथा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
बिहीबार रातभर चलेको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको जनाइएको छ। सहमतिसँगै पीडित परिवारले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् भने मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने भएको छ।सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक अनुसन्धान गरिने सहमति भएको छ। छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
सहमतिका मुख्य बुँदा
- मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने।
- परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने।
- घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने।
- मदरसाको कानुनी हैसियतबारे आवश्यक अनुसन्धान गरिने।
- प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराइने।
- छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने।
- मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने।

