ट्रक दुर्घटनापछि आगलागी, एक जनाको जलेर मृत्यु

धनकुटा,  १२ साउन  – तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा ट्रक दुर्घटनापछि आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगलागी भएको हो।

दुर्घटनापछि ट्रकमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिएका छन्। मृतक चालक नै हुन् वा अन्य व्यक्ति भन्ने विषयमा औपचारिक पुष्टि भइसकेको छैन। मृतकको परिचय खुलाउने तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी फलामेटारबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट एसपी रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box