साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन
दमक, १ वैशाख – साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन गरिएको छ । दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आज यहाँ एक कार्यक्रमकाबीच सञ्चारकर्मीसमेत रहेका स्रष्टा अम्याङ्साको विराशतको जोखना (गजल सङ्ग्रह ) २०७७, रेष्टुराँको सटरभित्र (रुबाइ सङ्ग्रह) २०७७ र रैथाने (हाइकु सङ्ग्रह) २०७७ को एकैसाथ विमोचन गरिएको हो ।
याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा गजलकार विवशवलिभद्र कोइरालाले विराशतको जोखना गजल सङ्ग्रह, फरक आयाम अभियान्ता साङ्सेन पञ्धाकले रेष्टुराँको सटरभित्र र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु सङ्ग्रह माथि समीक्षा गर्नुभयो । भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बूवान र पोक्लावाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुनुहुन्छ ।
डेढदशकदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साका यसअघि संक्षिप्त किराँत इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू वंशावली दस्तावेज र मुक्त (हाइकु सङ्ग्रह) २०७७ प्रकाशित छन् ।