सुनसरीमा कर्फ्यु हटाइयो, हिंसात्मक घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

विराटनगर, १२ साउन – जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ । प्रशासनले सोमबार मध्यराति १२:१५ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।

स्थिति क्रमशः सामान्य बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनाअनुसार मध्यरातिदेखि कर्फ्यु हटाइएको हो । प्रशासनका अनुसार पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सिमाना (महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र लगाइएको कर्फ्यु अब हटाइएको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । छानबिन टोली सोमबार राति विराटनगर पुगेको छ र टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । यस घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।

Facebook Comments Box