असार मसान्तसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, बढी तिरेको रकम अर्को बिलमा मिलाइने : प्राधिकरण

काठमाडौँ, १२ साउन – नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट तिरेका उपभोक्ताको रकम अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गरिनेछ ।

असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण मागेको थियो । आन्तरिक राजस्व विभागले असार मसान्तसम्मको विद्युत् उपभोगमा भ्याट नलाग्ने स्पष्ट पार्दै साउन १ गतेदेखि भएको विद्युत् खपत तथा न्यूनतम अर्थात् डिमाण्ड शुल्कमा भने कानुनअनुसार भ्याट लाग्ने जनाएको छ ।

यसअघि प्राधिकरणले असार मसान्तसम्मको खपतमा समेत भ्याट जोडेर बिल पठाएपछि उपभोक्ताबाट गुनासो आएको थियो । अब उक्त भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Facebook Comments Box